परिचय

विराटनगर भन्सार कार्यालयको संक्षिप्त परिचय

पृष्ठभूमि

विराटनगर भन्सार कार्यालय तत्कालीन नेपाल राज्यको पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत पर्ने कोशी अञ्चलको मोरङ्ग जिल्ला विराटनगर उपमहानगरपालिका वडा नं. २१ रानीमा अवस्थित रहेकोमा भारत तथा तेस्रो मुलुकसँग हुने व्यापारलाई सहजीकरण गर्ने उद्देश्य अनुरुप कोशी प्रदेश अन्तर्गतको मोरङ्ग जिल्ला विराटनगर महानगरपालिका बुधनगर स्थित भारतीय सिमासँग जोडिएको क्षेत्रमा दुबै तर्फ (भारत तथा नेपाल)को भन्सार कार्यालय तथा यस सँग सम्बन्धित अन्य कार्यालयहरु समेत रहने गरी एकिकृत जाँच चौकी (ICP) निर्माण भई वि.सं. २०७६ माघ ७ गते दुबै देशका प्रधानमन्त्रीज्यूहरुले संयुक्त रुपमा भर्चुअल माध्यमबाट उदघाटन गरी संचालनमा रहेको छ।

यस भन्सार कार्यालयको पश्चिम र दक्षिणतर्फ भारतको बिहार प्रान्त पर्दछ। यसको सीमावर्ती भारतीय बजार जोगवनी हो। यस भन्सार कार्यालय मोरङ्ग जिल्लाको सदरमुकाम विराटनगरवाट ६ किलोमिटर दक्षिणमा १२९ विघा क्षेत्रफलमा फैलिएको छ। यो कार्यालय भन्सार राजस्व असुलीको दृष्टिकोणले वीरगंज र भैरहवा भन्सार कार्यालय पछि तेस्रो कार्यालय हो । यस पूर्व भन्सार कार्यालय रहेको क्षेत्रमा हाल यात्रु जाँचपास कार्यालय रहेको र यसको क्षेत्रफल ४-११-७-२ विघा (३.२३ हेक्टर) फैलिएको छ।

ऐतिहासिक पृष्ठभूमि

नेपालमा २००७ साल अगाडि भन्सार व्यवस्था ठेक्का प्रणालीमा आधारित थियो। नेपालको दक्षिण र उत्तरतर्फ विभिन्न ठाउंमा विभिन्न नामका भन्सारहरु थिए भने तराई तर्फ भन्सारको काम गर्ने बजार अड्डाहरु थिए। भोट तर्फको भन्सार र आन्तरिक भन्सारहरुको ठेक्का वन्दोवस्त काठमाण्डौं गोश्वारा भन्सार (रणमुक्तेश्वर) र बजार अड्डाको ठेक्का वन्दोवस्त मधेश वन्दोवस्त अड्डाले गर्दथ्यो। सन १९५० मा भारतसँग वाणिज्य सन्धी गरे पश्चात् आन्तरिक भन्सारहरु खारेज भई सीमा क्षेत्रहरुमा भन्सारको स्थापना भयो। भन्सारमा ठेक्का प्रथा वन्द भै अमानतवाट राजस्व उठाउन थालियो । वि.सं.२००७ साल पछि तराई तर्फका बजार अड्डाको कामहरु अर्थ आय विभाग वाट हुने गरेकोमा २०१३ साल कार्तिकमा तराईका सबै बजार अड्डाहरु भन्सार अड्डामा परिणत भएका हुन्।

विराटनगर भन्सारको इतिहास रगेंलीबाट शुरु हुन्छ। रगेंलीमा विजयपुरबाट वि.स.१९२७ सालमा मोरङ्गको सदरमुकाम सरेको थियो। सम्पूर्ण सरकारी कामकाज पनि रंगेलीबाट नै हुने गर्दथ्यो। रंगेली मोरंगको सदरमुकामका रुपमा वि.स. १९७२ सम्म रहेको थियो। रंगेलीमा सदरमुकाम रहेसम्म फारविसगंजबाट रंगेली वीच सोझै मालवस्तु निकासी पैठारी हुने गरेको थियो। भन्सार सम्वन्धी कार्य पनि वि.स.१९७२ सम्म रंगेलीबाट गरिन्थ्यो। विराटनगरलाई वि.स.१९७० सम्म गोग्राहाका नामले चिनिन्थ्यो। केशर शम्शेरले मोरङ्ग दौडाहाका समयमा भेडियाहीमा पाइएका विराटराजाका दरवारका भग्नावशेषलाई दृष्टिगत गरी गोग्राहाबाट विराटनगर नामाकरण गरेका हुन्। वि.स.१९७२ मा मोरगंको सदरमुकाम विराटनगरमा सारियो। जोगवनीसम्म भारतीय रेलवे संचालन हुनथालेपछि स्व.कृष्ण प्रसाद कोइराला, सुब्वा गुंजमान, डिठ्ठा कृष्णराज, मु.हनुमानदास, सुव्वा कालीदास, सुवेदार अनन्तरामको विशेष योगदानले विराटनगरमा सरकारी अड्डाहरु सरेका हुन्। यसैक्रममा भन्सार अड्डा पनि रगेंलीबाट विराटनगरमा सरेको हो। वि.स. १९७२ देखि भन्सार सम्वन्धी कार्य रगेंलीबाट विराटनगर वजार अड्डामा सरेतापनि वि.स.२००७ सालको क्रान्तिसम्म भन्सार ठेक्का पट्टामा आधारित थियो। वि.स.२००७ सालको क्रान्ति पछि विराटनगर भन्सार कार्यालयको स्थापना भने वि.स.२००८ सालमा भएको हो। त्यस समयमा बजार अड्डा (हालको ट्राफिक चोक) मा मूल भन्सार रहेको थियो र सीमानाको रानी सिकीयाहीमा छोटी भन्सार रहेको थियो। रानी सिकीयाहीमा रहेको भन्सार खरको झोपडीमा रहेको थियो। रानीको छोटी भन्सारबाट खुद्रासामानको भन्सार लिइन्थ्यो भने अन्य मालवस्तुको चलानी वनाएर वजार अड्डा (हालको ट्राफिक चोक) मा भन्सार तिर्ने वन्दोवस्त मिलाईएको थियो। वजार अड्डाबाट सीमावर्ती रानीमा भन्सारको स्थानान्तरण २०१९ सालमा भएको हो। रानीमा अवस्थित तत्कालीन प्रथम भन्सार प्रमुख नारायण बहादुर मल्ल हुनुहुन्थ्यो।